प्रधानसेनापतिले फूली नलगाउँदै उजुरी ओइरिए

व्यापक हेरफेरमा गौरव व्यस्त
काठमाडौं, भदौ ५ । नेपाली सेनाको सबै संरचनामा छत्रमानसिंह गुरुङको सेट कायम रहेकै बेला कायम मुकायम प्रधानसेनापति गौरवशमशेर जबराले सैनिक सचिवालयमा काज सरुवा गरेर परिवर्तनको संकेत गरेका छन्। सैनिक सहायकमा सहायकरथी हिमालय थापा र सैनिक सचिवमा ज्ञानेन्द्र रायमाझीलाई काजमा लगिसकेका छन्। आफ्नो सचिवालयलाई उनले आफूले प्रधानसेनापतिको फूली लगाउनुअघि नै मजबुत बनाउन थालेको चर्चा चलेको छ। छत्रमानसिंह गुरुङको पालामा आर्मी हेडक्वार्टरमा कब्जा जमाएर बसेको समूहले संस्थाको हितभन्दा व्यक्तिगत हितमा गरेका कामहरूको उजुरी र मुद्दाहरू अहिले कामु प्रधानसेनापति समक्ष थाम्नै नसक्ने गरी परिरहेको सैनिक स्रोतले जनाएको छ।
उमेर ढाँट्ने जर्नेलहरू खोज
धेरै उजुरीहरूमध्ये सैनिक प्रतिष्ठानको डिन भएर नेपाली सेनाको इतिहास बिगारी छत्रमानसिंह गुरुङको व्यक्तिगत जीवनीलाई सेनाको इतिहास भनेर प्रकाशित गराउने सहप्राध्यापक कमल राठौरलाई तुरुन्त खरिपाटीबाट हटाउनुपर्ने माग गरिएको छ। पीएचडी गर्न नसकेर त्रिभुवन विश्वविद्यालयबाट भागेका राठौर रथी नेपालभूषण चन्दको साँढुभाइ भएकै कारण डिन भएको आरोप उजुरीमा लगाइएको छ। त्यस्तै उपरथी बलदेवराज महत लगायतका जर्नेलहरूको नामै किटेर सम्पत्ति छानबिनको माग गरिएको छ। शान्ति सेना र कल्याणकारीमा बसेर करोडौं कुम्ल्याउने जर्नेलहरूको नामै किटेर उजुरी गरिएको छ। कतिपय जर्नेलको उमेरको प्रमाणपत्र पनि खोज्नुपर्ने माग गरिएको छ। उमेरको विवादमा परेका उपरथी नेत्रबहादुर थापाका साथै थुप्रै जर्नेल कर्नेलको नागरिकता र एसएलसीको शैक्षिक प्रमाणपत्र भिडाएर हेरेमा दूधको दूध पानीको पानी छुट्टिने दाबी पनि उजुरीमा गरिएको छ। उमेर विवादका यस्ता फाइल अख्तियारमा पठाइदिन समेत कामु प्रधानसेनापतिको सचिवालयलाई सुझाव दिइएको छ।
भूपू कर्णेलको कीर्तिमान
जो प्रधानसेनापति भएपनि सेनापतिको लेखापाल भएर बसिरहेका कृष्ण सिलवालको बारेमा पनि का.मु.प्रधानसेनापति राणाको सचिवालयबाट सुनुवाई होस् भन्ने कुरा उजुरीमा उल्लेख गरिएको छ। गरुडशमशेर राणाको पालादेखि चीफको एकाउन्टेन्ट बनेका सिलवालले त्यसपछि ६ जना प्रधानसेनापतिलाई बिदा गरिसके तर उनी त्यहीँको त्यहीँ टिकिरहनुको रहस्यको खोजी गर्नुपर्ने माग पनि गरिएको छ। गरुडशमशेर, धर्मपाल वरसिंह थापा, प्रज्ज्वलशमशेर जबरा, प्यारजंग थापा, रुक्माङ्द कटवाल हँुदै छत्रमानसिंह गुरुङको पालामा समेत लेखापाल बनेका सिलवाललाई गौरवले पनि यथावत राख्लान् कि हटाउलान् भन्ने गम्भीर प्रश्न उठेको छ। उनी बहालवाला सैनिक पनि होइनन्। धर्मपालवरसिंह पालादेखि नै सेनाबाट अवकाश भएका सिलवालले प्रधानसेनापतिको गोप्य र रहस्यमय कोष सन्चालन गर्दै आएका छन्। एउटै व्यक्तिलाई ६ जना प्रधानसेनापतिको गोप्य कोषको लेखापाल बनाउनुको रहस्य पनि खोजी भइरहेको छ।
गौरव गम्भीर
यी उजुरीको ओइरोपछि सैनिक सचिवालय गम्भीर बनेको छ। हेडक्वार्टरमा चलेको चर्चा अनुसार, गौरवशमसेरको मातृ युनिट पुरानो गोरखगण हो। यो गण मगर पल्टनका रुपमा चिनिन्छ। गौरवको नेतृत्व रहेका बेला पुरानो गोरखगण र बर्दवहादुर गणले चलखेल गर्ने सम्भावना अहिलेदेखि नै देख्न थालेका छन् कतिप जर्नेलले। उनले आफ्नो एडीसीमा गौरव केसीलाई छानिसकेको बताइन्छ। विभागीय र पृतनापतिहरूको हेरफेरका लागि पनि अहिले गम्भीर ढंगले गृहकार्य भइरहेको बताइएको छ। कामु प्रधानसेनापति गौरवशमशेर नेतृत्वको हेडक्वार्टर अहिले सन्तुलित र आलोचनाबाट टाढा रहने ढंगले भदौ २५ गतेपछिको हेरफेरको तयारीमा जुटेको छ। संगठनलाई आलोचना र भ्रष्टाचारमुक्त बनाउन आफूले प्रयत्न गर्ने उनले आफू निकटस्थहरूलाई बताउने गरेका छन्। हेडक्वार्टरमा चलेको चर्चा अनुसार भदौ २५ मा आफू प्रधानसेनापति बनेपछि उनले दशैंअघि नै जर्नेल–कर्णेहरूको व्यापक विभागीय हेरफेर गरेर आफ्ना लागि सहज वातावरण बनाउने तयारी हुँदैछ।
हेरफेरको तयारी
हेडक्वार्टरमा हाल चलेको चर्चा अनुसार, उपरथी पवन पाण्डेलाई व्यवस्था तथा युद्धकार्य महानिर्देशनलय (डिजिएमओ)मा सरुवा गर्ने तयारी भइरहेको छ। महेशविक्रम कार्कीलाई आइजी, प्रदीपविक्रम राणालार्ई क्युएमजी, राजेन्द्र क्षेत्रीलाई डिजिएमटी, भिक्टर राणालाई एमजीओ, रामकृष्ण अधिकारीलाई स्टाफ कलेज, रुक्माङ्गद कटवालका खास मान्छे रमेश विष्टलाई एजी र पूर्णचन्द्र थापालाई उपत्यका पृतनामा सरुवा गर्ने सम्भावना छ। त्यस्तै बलदेव महतले पूर्वी वा मध्यपश्चिम पृतनामा जान खोजे पनि उनलाई सुरक्षा परिषद्मै राख्ने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ। प्रेमप्रकाश थापालाई सुदूरपश्चिम पृतना, सुरेन्द्र कार्कीलाई मध्य पृतना, यज्ञविक्रम राणालाई पश्चिम पृतना, सुरेशराज शर्मालाई आर्मीको महत्वपूर्ण डीएमआई (जासुसी विभाग), प्रभुराम शर्मालाई प्रमुख सेनानीबाट बढुवा गरी एक नम्बर बाहिनीमा पठाउने चर्चा चलिसकेको छ। त्यस्तै सहायकरथीहरू पद्मविलास कार्कीलाई सैनिक जनसम्पर्क निर्देशनालय (डिपिआर)मा र डिपिआरका रमीन्द्र क्षेत्रीलाई पीएसवाइ र संगठनको जिम्मेवारी दिने तयारी भइरहेको छ।
त्यस्तै हरि बस्नेतलाई भर्ना छनौट, देवी सुवेदीलाई दश नम्बर बाहिनी, हेमन्त कुँवरलाई राष्ट्रपतिको कार्यालय, रमेश पुनलाई आर एण्ड डी, बिजय मोक्तानलाई सैनिक शिक्षालय, हेम खत्रीलाई उपत्यका पृतना, भरत मल्ललाई डीएमओ (अप्रेसन), बिनोज बस्नेतलाई डीएमओ प्लान, इमानदार मानिएका धनीदास कार्कीलाई कल्याणकारीमै थमौती, आमोदनरसिंह राणालाई शान्ति सेना सचिवालयमा सरुवाको तयारी भइरहेको चर्चा छ।
छत्रमानको पालामा कालापानी खेदिएका सैनिक अधिकृतहरूलाई हेडक्वार्टरमा अवसर दिनुपर्ने र अबको सरुवा बढुवा लगायतका पदस्थापनहरू सन्तुलित हुनुपर्ने सुझाव कामु प्रधानसेनापतिलाई दिइएको छ। सेनाभित्रको विकृति अन्त्य गर्न र आफ्नो मान्छे भनेर गलतलाई च्याप्ने संस्कार हटाउँदै सैनिक संगठनका लागि राम्रो मान्छेलाई हाम्रो मान्छे भन्नुपर्ने सुझाव गौरबलाई दिइएको छ। सेनामा जाति, क्षेत्र र वर्णका आधारमा भेदभाव हुन थालेकोमा चिन्तित बनेकाहरूले राणालाई योग्य र सक्षमहरूलाई अघि बढाउन र सैनिक मर्यादाविपरीत कमाउ र घुस्याहा धन्दामा लाग्नेहरूलाई निगरानीमा राख्न पनि धेरैले सुझाव दिएका छन्।
भाग्यमानी कर्णेलहरू
नेपाली सेनामा केही भाग्यमानी महासेनानीहरूको अहिले पुनः चर्चा शुरु भएको छ। जो प्रधानसेनापति आए पनि शक्तिको वरिपरि घुम्ने भएकाले उनीहरूको चर्चा बढी नै हुने गर्छ। चर्चा अनुसार, महासेनानी शैलेन्द्रशमशेर कल्याणकारीमा, रामशरण कार्कीलाई खाद्य परिवहन, ज्योतेन्द्र खत्रीलाई सम्भाररथी, विनोद पाण्डेलाई डीएमओ, शरद ढकाललाई डीएमआई, हिमांशु खड्कालाई डीएमओ, सुरेन्द्र सिजापतिलाई एमएस, सरोजप्रताप राणालाई सैनिक सहायकमा ल्याउने तथा कायम राख्ने चर्चा चलेको छ।
कर्णेल राजुलाई अन्याय
यसैबीच तेस्रो पटक पनि भैरवनाथ काण्ड उठाएर बढुवा फाइल रोकिएका महासेनानी राजु बस्नेत माओवादी पीडित भएकाले पटक–पटक दुःख पाएको भन्दै उनका सहकर्मी सैनिक अधिकृतहरूले युद्धकालको घटनालाई आधार मानेर पटक पटक दुःख दिन नपाइने भन्दै आक्रोश ब्यक्त गरेका छन्। उनी प्रमुख सेनानी बढुवा हुने बेला पनि उनको बारेमा मानवअधिकार हनन्कै हल्ला चलेको थियो। तर पनि उनको प्रमुख सेनानीमा बढुवा र म्याद थप समेत भयो। महासेनानीमा प्रमोशन हुने बेलामा पनि राजुका बारेमा भैरवनाथ काण्ड उब्जाइएको थियो। तर पनि उनको बढुवा र अनि पछि म्याद थप समेत भयो।
२०५९ मा माओवादीबाट मारिएका तत्कालीन महासेनानी किरण बस्नेतको भाइ भएकै कारण उनले बढी दुःख पाएको चर्चा चलेको छ। भैरवनाथ काण्डमा मुछिएका राजु बस्नेतभन्दा माथि धेरै सैनिक हाकिम थिए, कतिपयको बढुवा भएर अवकाश पनि भइसकेका छन्। तर पटक पटक बस्नेतलाई शिकार बनाउन खोजिएको र बाहिरी हल्लाका भरमा उनको करियर ड्यामेज बनाउन खोजिएको उनका सहकर्मीहरू गुनासो गर्छन्। मानवअधिकार उल्लंघनको आरोप लगाइए पनि उनी कुनै पनि अदालतबाट दण्डित छैनन्, बरु अदालतबाट सर्वश्व सहित जन्मकैदको सजाय पाएका माओवादीका निवर्तमान सभासद् बालकृष्ण ढुंगेललाई प्रधानमन्त्री बाबुराम भट्टराईले नै संरक्षण दिइरहेका छन्। एकातिर युद्धकालमा भएको घटनाको जिम्मेवारी राजनीतिक नेतृत्वले लिन्छ भन्दै बालकृष्णहरूलाई जोगाउने र अर्कोतिर सोही प्रकृतिको घटनामा दोषी ठहरसमेत नभएका सैनिक अधिकृतलाई वृत्तिविकासबाट रोक्ने प्रधानमन्त्री बाबुरामको कार्यशैली पूर्वाग्रही भएको उच्च सैनिक अधिकारीहरू बताउँछन्। यदि युद्धकालमा लडाइँ लडेको र मान्छे बेपत्ता, मरेको आधारमा बढुवा रोक्ने वा कारबाही गर्ने हो भने अहिलेका माओवादीका सबै नेता तथा मन्त्रीहरू सार्वजनिक पदमा बस्न योग्य नहुने तर्क पनि उनीहरूले गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out