काठमाडौं, साउन १ (नागरिक)– गायिका इन्दिरा जोशीले विदेशी गीतमा पनि आवाज दिएकी छिन्। श्रीलंकाली गायक इराज विरारत्नेको हिपहप शैलीको गीतमा उनले नेपाली शब्द गाएकी हुन्। 'उनले मलाई स्वर पठाइन दिन आग्रह गरेपछि नेपालमै रेकर्ड गराएर गीत पठाइदिएकी थिएँ,' उनले भनिन्। गायक इराजको 'जस्ट वान क्लिक' बोलको गीतमा उनले 'सुनन केही भन्छु म' भन्ने नेपाली शब्दको प्रयोग गरेकी छिन्।
गीतमा उनीबाहेक जर्मनका टोनी टी र अस्ट्रेलियाका मार्कियाले समेत स्वर दिएका छन्। हाल इन्दिरा आफ्नो कन्सर्टको क्रममा सिंगापुरमा छिन्। इराजको पछिल्लो एल्बममा समावेश गीतको लागि इन्दिराले काठमाडौंमै रेकर्ड गरी आवाज पठाएकी थिइन्।
'यो मेरो अन्तर्राष्ट्रियस्तरको पहिलो गीत रेकर्ड भएकोले सुरुमा डराएको थिएँ। युट्युबमा दुई हप्तामै धेरैले हेरेको रेकर्ड पाएपछि उत्साहित छु,' उनले भनिन्। फिल्मका आइटम गीतहरूको अनुभव भन्दा यसको अनुभव फरक भएको उनले बताइन्।
'दुई लाइनमात्र गाउनुपर्ने थियो। यसका लागि मलाई पहिल्यै थिम दिइएकोले सबै काम राम्रै भएको थियो,' उनले भनिन्। म्युजिक भिडियो पनि रिलिज भइसकेकोले श्रीलंकाली श्रोताको संख्या बढेको उनले पाएकी छिन्। म्युजिक भिडियोमा उनी पनि देखिन्छिन्।
'कलाकारले सबै गीत गाउनुपर्छ। फेरि श्रीलंकाली गायकको गीत भए पनि मैले नेपाली नै गाउन पाएकोमा रमाइलो भयो,' उनले भनिन्। सेन्टिमेन्टल गीत मन पराउने उनी आफ्नो एल्बम 'डान्स विथ मी' रिलिज भएको एक वर्षमै आइटम गीतले चर्चित भएकोमा छक्क छिन्। भिडियो हेर्नुस्-
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago