खोइ त लभ प्वाइन्ट?

टेन्सन छ, माया गर्नेहरूलाई। बाइकमात्रै भएर भएन, जाने ठाउँ कतै छैन। ठूला रेस्टुरेन्ट खल्तीको पहुँचबाहिर छन्, साना रेस्टुरेन्ट सुरक्षित छैनन्। यस्तोमा कहाँ जान्छन्, युगल जोडी माया साट्न? शहरको खुम्चिएको आकारसँगै प्रणय विन्दुको अभाव खट्किन थालेको छ तन्नेरी पुस्तालाई। प्रेम गर्ने थलोको खोजीमा संगीता श्रेष्ठको यात्रा विवरण :

अभावैअभावबाट गुज्रिरहेका छौँ हामी नेपाली। देशमा संविधानको अभाव छ, ग्यास-पेट्रोलको अभाव छ, जनताका समस्या बुझ्ने नेताहरूको अभाव छ। यिनै अभावहरूबीच अहिले अर्को एउटा टड्कारो अभाव छ। प्रेमीप्रेमिकाका लागि भेट्ने थलोको अभाव। डेटिङ स्पट या लभ प्वाइन्ट, यसलाई जे भने पनि हुन्छ। यस्ता उपयुक्त थलोहरूको अभावमा नेपाली प्रेमीप्रेमिकाले मन फुकाएर प्रेमालाप गर्न पाएका छैनन्। दिनानुदिन आधुनिक बन्दै गइरहेको नेपाली समाजमा लभ प्वाइन्टहरू आवश्यक छन्, जायज छन्।

प्रेमीप्रेमिका कम्तीमा हप्तामा एक दिन केही पल यस्तो सुन्दर ठाउँमा बिताउन चाहन्छन्, जहाँ रंगीचंगी फूलहरू फुलिरहेका होउन्, चराचुरुंगीका चिरबिर गुञ्जिरहेका होउन् र सबैभन्दा महत्वपूर्ण कुरो- जहाँ शान्ति होस्, एकान्त होस्। राजधानीका हजारौँ जोडीले यस्तो डेटिङ स्पटको कल्पना गर्छन्। तर, कोलाहल, र भीडभाडले निलेको राजधानीमा यस्ता सुरम्य ठाउँको कल्पना पनि गर्न सकिन्न।
केही पलका लागि एकअर्काका अँगालोमा हराएर प्रेमको दुनियाँमा विचरण गर्ने न ठाउँ छ, न माहोल। उनीहरूको यो तीव्र चाहनामा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले हावा भरिदिएका छन्। पूर्वनगरपिता स्थापितले त्यस्तो लभ पार्क निर्माण योजना अघि सारेका छन्, जसको राजधानीवासी युवायुवतीले दशकौँदेखि सपना देखिरहेका छन्। एक वर्षभित्रै उनीहरूको यो सपना पूरा गर्न काम थाल्ने वचन पनि दिएका छन् स्थापितले।
काठमाडौँका युगल जोडीलाई केही समय एकान्तमा प्रेमालाप गर्ने ठार्उँ खोज्न हम्मेहम्मे पर्छ। व्यस्त, अशान्त र फोहर काठमाडौँले युवायुवतीका प्रेमालापको अधिकारै खोसेको प्रतीत हुन्छ। कहीँ कतै ठाउँ नपाएर रत्नपार्क, भृकुटीमण्डप, धरहरा, वसन्तरपुर, भक्तपुर तथा ललितपुर दरबार स्क्वायर, नागपोखरी, शंखपार्क, बालाजु पार्कजस्ता सार्वजनिक स्थल धेरै जोडीका 'बाध्यात्मक' लभ प्वाइन्ट बनेका छन्। पशुपति, स्वयम्भू, बौद्ध स्तुपजस्ता धार्मिक स्थलमा पनि जोडीहरू प्रमालाप गरिरहेका भेटिन्छन्। काठमाडौँबाट अलि टाढा जाने जोडी गोदावरी, दक्षिणकाली, टौदह, नागदह, चोभार, त्रिभुवन पार्क, धुलिखेल, नगरकोटसम्म पुग्ने गरेका छन्।
भृकुटीमण्डप पार्कमा दिनहुँ कयौँ जोडी खुलमखुला एकअर्काका अँगालोमा बाँधिएका देखिन्छन्। त्यहाँ भित्र पस्दा बस्ने ठाउँ खोज्न थाल्यो भने कुनै कुना, झ्याङ या रुखका फेद, कहीँ खाली भेटिँदैन। सानो बुट्यान देखेपछि अनुमान लाए हुन्छ, त्यहाँ जोडी पनि छ। यत्रतत्र जोडी नै जोडी। तर, ती जोडी त्यहाँ पनि रम्न सकेका हुँदैनन्। भृकुटीमण्डपमा भेटिएको एक जोडीले केशव स्थापितले प्रेम पार्क बनाउने कुरा सुनेर आफू दंग भएको बतायो। लजाउँदै केटीले भनिन्, 'प्रेम पार्क बन्यो भने निर्धक्क भएर प्रेमालाप गर्न पाइन्थ्यो। ठूल्ठूला होटल, रेस्टुरेन्ट वा टाढा जाने हैसियत छैन हाम्रो। खुला ठाउँमा बस्दा आफन्तले देख्लान् कि भन्ने डर हुन्छ। नभेटी रहन मनले मान्दैन।' यही पार्कको पूर्वपट्टि कुनामा दुबोमा बसेको जोडीले सुरक्षित र शान्त डेटिङ स्पट खोज्दै उपत्यकाका सबै पार्क चहारिसकेको रहेछ। तर, उनीहरूलाई कुनै पनि पार्क प्रेमालापका लागि उपयुक्त लागेन। 'प्रेम गर्नु अपराध नै हो जस्तो पो लाग्न थाल्यो। डरैडर, चिन्तैचिन्ता!' उनीहरूको व्यग्रता यसरी बोल्छ।
काठमाडौँभित्र अहिले सबै जोडीले मन पराएको ठाउँ हो- केशरमहलस्थित स्वप्न बगैँचा। प्रतिव्यक्ति ८० रुपैयाँको टिकट काटेर घण्टौँ बिताउने जोडीहरूको संख्या निकै छ। शनिवार त झन् थेगि नसक्नुको भीड हुन्छ यहाँ। सबै आ-आफ्नै दुनियाँमा मस्त हुन्छन्। 'एक वर्षदेखि हप्ताको एकपटक यहाँ आउन थालेका छौँ,' ब्वाइफ्रेन्डसँग आएकी शिताष्माले भनिन्। उनका ब्वाइफ्रेन्ड अजितले थपे, 'अलिकति खर्च भए पनि अहिले यो जति उपयुक्त थलो अर्को छैन।' पार्कको प्रवेश शुल्क महँगो नै मान्नुपर्छ। तै पनि, यहाँ दिनको २० देखि ३० जोडी आउने गरेको यहाँका कर्मचारी बताउँछन्। यस ऐतिहासिक बगैँचाले समाजको एक वर्गबाट 'युगल जोडीमात्र जाने' बगैँचाको आरोप खेप्दै आएको छ। तर, यो कुरालाई अस्वीकार गर्छन् त्यहाँका कर्मचारी। 'यदि कुनै आपत्तिजनक क्रियाकलाप हुँदैन भने किन युवा जोडीलाई सँगै बस्न नदिने,' उनीहरूको तर्क छ।
प्रेमका सुरुवाती चरणमा त झन् साता वा तीनचार दिनमा होइन, दिनहुँ भेट्नैपर्ने आवश्यकता ठान्छन् आजका युवा। फेसबुक, जिमेल, याहू, हटमेललगायतले प्रेमभोकलाई झन् तीव्र बनाइरहेका छन्। 'फोन र च्याटमा त हालखबर पो बुझ्ने हो त, प्रेमै गर्न कहाँ सकिन्छ र?' स्वप्न बगैँचामै भेटिएका एक युवाले तर्क गरे।
दिनको एक पटक नभेट्दा दिनै खल्लो भएको महसुस गर्ने जोडीको संख्या पनि ठूलो छ। तर, भेट्ने कहाँ? समस्या सानो छैन। 'चिया पसलमा कति भेट्नु?' बानेश्वरका शिवकुमारले भने, 'त्यहाँ भेट्दाभेट्दा चियापसलेले मात्र नभई वरिपरिका पसलेले पनि चिन्न थालिसके। अनि चियापसलमा मन र भावनाका कुरा कसरी गर्नु?' यो शिवकुमारजस्ता हजारौँ युवाको समस्या हो। 'भेट्ने मन त हुन्छ तर भेट्ने कहाँ भनी घण्टौँ सोच्दा, घोत्लिँदा पनि ठाउँ नै पत्ता लाग्दैन,' आर आर क्याम्पसका विद्यार्थी शेखर भन्छन्।
वसन्तपुर दरबार स्क्वायर, हनुमान ढोकातिर घाममात्रै अस्ताउनुपर्छ, प्रेम जोडीहरू चारै दिशाबाट प्रकट हुन्छन्। उसो त दिउँसो पनि जोडीहरूले गुल्जार नै हुन्छ यो ठाउँ। दिउँसो १२ बजेको चर्को घाममा मन्दिरको छायामा थुप्रै जोडी प्रेमालापमा मग्न भएको देख्न सकिन्छ। कलेज ड्रेस, टाइट जिन्स, मिनिस्कर्टदेखि कुर्तासुरुवाल लगाउने भलाद्मी टाइपसम्मका सबै खाले युवतीका साथमा ब्वाइफ्रेन्ड हुन्छन्। हात समाउने, कपाल सुमसुम्याउने, एकअर्काको आँखामा हेरेर घण्टौं बिताउने, अझ एक कदम अगाडि बढेर चुम्बनसम्म पुग्ने जोडीहरूको रमिता हेर्न पाइन्छ यहाँ। त्यहाँ पुग्ने 'दर्शक महानुभाव'ले उनीहरूको बाध्यता बुझ्दैनन्, उल्टै उनीहरूलाई निर्लज्ज र छाडाको लेबल लगाइदिन्छन्।
बिहान ११ : ३० बजे बालाजु पार्क पुग्दा त्यहाँ कलेज ड्रेसमै प्रेमको प्यास मेटिरहेका अवस्थामा थुप्रै प्रेम जोडी भेटिए। कलेजबाट क्लास बंक गरेर वा कलेजपछि त्यहाँ आइपुगेका जोडीको संख्या बिहानै बाक्लिसकेकाले दिउँसोसम्म निकै भइसक्ने अनुमान गर्न गाह्रो थिएन। मजाले ब्वाइफ्रेन्डसँग गफिँदै गरेकी युवतीलाई डिस्टर्ब गर्दै सोधिएको प्रश्नमा 'निर्धक्क प्रेम गर्ने ठाउँको खाँचो भएको' बताइन्। प्रायः क्लास बंक गरेर ब्वाइफ्रेन्डलाई भेट्न उनी यहाँ आउँदी रहिछन्। 'यो टाइममा नभेटे भेट्नै पाइँदैन। आमाले घरबाट निस्कनै दिनुहुन्न,' उनले भनिन्, 'यहाँ आएर पनि डराई-डराई बस्नुपर्छ। कोही परिचितले देखेर घरमा कुरा लाइदियो भने बर्बादै हुन्छ। प्रेमीप्रमिकाका लागि एउटा व्यवस्थित पार्क भइदिए कति असल हुन्थ्यो। बुढापाकाले पनि क्वारक्वारति हेरेर हैरानै पार्छन्। प्रेम गर्नेबाहेक अरूलाई नो इन्ट्रीवाला पार्क हुनुपर्छ।'
बस बिसौनीमा घण्टौँ बिताउने जोडीहरूको पनि कमी छैन काठमाडौँमा। तर, त्यहाँ बसेर कुरा गर्दा अति नै डिस्टर्ब हुने गरेको महसुस गर्छन् उनीहरू। गाडीका आवतजावत, हर्नका टिँटीँ र ट्याँट्याँ, धुलोधुवाँ, होहल्ला आदिले उनीहरूको रसभंग गरिदिन्छन्। 'तर के गर्नु बस्नैपर्छ, अरू कहाँ जानु?' लैनचोरस्थित बस बिसौनीमा दुःखी भएर आफ्नो अधुरो भेटघाट प्रसंग सुनाउँदै सुनिताले भनिन्।
ललितपुरको युएन पार्कमा भेटिएका समिरले प्रेम पार्कको अभावमा विकृति फैलिरहेको तर्क गरे। 'राम्रो पार्क नभएकैले गर्लफ्रेन्डलाई कोठामै बोलाएको थिएँ,' उनले आफ्नो किस्सा सुनाउन थाले, 'कति बेला भावनामा हराएर यौन सम्बन्ध हुन पुगेछ। उनी गर्भवती भइन्। एबर्सन गराउनुपर्‍यो। दुवैको पढाइ पनि बिग्रियो। प्रेम पनि छुट्यो।' पहिलो प्रेमिकालाई भेट्ने स्थानको अभावकै कारण गुमाएको उनको तर्क थियो।
प्रेमीप्रेमिकाका लागि उपयुक्त भेट्ने थलोहरूको साँच्चै आवश्यकता छ। अन्यथा, बस बिसौनी, कफी सप, मन्दिर आदि ठाउँमा जोडीहरू लठारिएका, मडारिएका देख्दा 'समाज पतित भयो, विकृत भयो' भन्नुको कुनै तुक छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out