काठमाडौं, भदौ ८ । नेपालको राजनीतिमा एकदमै आशावादी राजनीतिज्ञका रुपमा
उदाएका बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि भने त्यसको ठीक विपरित देखिन
थालेका छन्। झट्ट हेर्दा एकदमै उदारवादी देखिने भट्टराई अहिले एकदमै अनुदार
देखिइरहेका छन्। सबैले सोचेभन्दा विपरित हर्कत देखाउँदै कुर्चीमोहमा
भट्टराई चुर्लुम्म डुबेका छन्।
प्रधानमन्त्रीमा आसीन भएपछि भट्टराईले
मुलुकलाई परिवर्तन गर्नुको साटो आफैं परिवर्तन भई सबैलाई निरास पार्ने कर्म
गरिहरेका छन्। माओवादी भित्रका उदार भनी आशा गरिएका भट्टराईले अहिले आफ्नो
एकदमै अनुदारवादी चरित्र प्रदर्शनी गर्दै आएका छन्। उनले सत्तालिप्सा
देखाई जगत् हसाउने कार्य गर्दै आएका छन्। भट्टराई प्रधानमन्त्री भएमा धेरै
सकारात्मक कार्य हुने अपेक्षा गर्ने नेपाली जनतालाई लोप्पा खुवाउँदै उनी
आफ्नै स्वार्थमा मात्र दगुर्न थालेका छन्।
सबैका बन्ने अपेक्षा गरिएका
भट्टराई अहिले फुटेर बचेको एकीकृत नेकपा (माओवादी) भित्रका भ्रष्ट, तस्कर,
कमिसनखोर आदिको मात्र आफ्नो बन्ने कर्ममा लिप्त रहन पुगेका छन्। सबैले आशा
गरे विपरित चल्ने कार्य गर्दै आएका भट्टराई पछिल्लो चरणमा तानाशाह बन्ने
मार्गमा चल्न थालेको महसुस गरिन थालिएको छ। प्रधानमन्त्रीको कुर्चीमा आसीन
हुँदा आदर्शका कुरा गरेर नथाक्ने भट्टराईले बोली अनुसारको व्यवहार देखाउँदै
कुनै पनि दिन राजिनामा गरी बेकारमा नबस्ने सोच अधिकांशको थियो तर त्यसकाृे
विपरित उनले अहिले सत्तालिप्सा मात्र देखाएका छन्। प्रधानमन्त्रीको
चुनावमा सामेल हुनेबेला आफू राष्ट्रिय सहमतीय सरकारमा मात्र सामेल हुने
बताउने गरेका भट्टराईले त्यसविपरित बहुमतीय सरकारको नेतृत्व गरिरहेका छन्।
उनले आफ्नो दायित्व विर्सेर कुर्ची ओगट्ने कार्य मात्र गरिरहेका छन्।
सहमतीय
सरकारबिना मुलुकको समस्या समाधान नहुने कुरा प्रधानमन्त्री भट्टराईले
राम्ररी बुझेका छन्। त्यसैले पनि उनले राष्ट्रिय सहमतिलाई प्रधानता दिएका
थिए तर कुर्चीमा पुगेपछि उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर
व्यक्तिगत स्वार्थलाई मात्र महत्व दिन पुगेका छन्। उनले अहिलेको राजनीतिक
जटिलता फुकाउन सबै दललाई सहमत गराई राष्ट्रिय समस्याबाट मुक्ति दिलाउनुको
साटो आफ्नो कुर्ची मोहलाई मात्र अघि सार्ने कार्य गर्दै आएका छन्।
संविधानसभाको निर्वाचनले माओवादीलाई प्रमुख ठूलो दलको दर्जा दिए पनि नेपाली
कांग्रेस र नेकपा (एमाले) क्रमशः दोस्रो र तेस्रो शक्ति हुन् भन्ने
कुरालाई चटक्के विर्सिएको अवस्था छ। त्यसमाथि मुलुकको समस्या समाधानका लागि
माओवादी, कांग्रेस, एमाले र तराई केन्द्रित दलहरुका बीचमा सहमति हुनु
जरुरी छ भन्ने कुरालाई महत्व नदिई एक्लै हिंड्ने कार्यमा प्रधानमन्त्री
भट्टराई तल्लीन छन्। कांग्रेस र एमाले जस्ता दलहरुलाई सहमत नगराएसम्म
मुलुकको समस्या समाधान नहुने कुरा बच्चा बच्चासम्मले बुझिसकेको यो बेला
भट्टराई भने मुलुक भाँडमा गए पनि आफ्नो कुर्ची कुनै हालतमा नजाओस् भन्ने
पक्षमा छन्।
संविधानको संरक्षकको समेत भूमिका निर्वाह गरिरहेका
राष्ट्रपति रामवरण यादवको निर्देशन र इच्छाविपरित चल्ने कार्य मात्र
प्रधानमन्त्री भट्टराईले गरिरहेका छैनन् कि राष्ट्रपतिलाई विवादमा तान्ने
कार्य गरिरहेका छन्। उनले राष्ट्रपतिले सबैलाई मिलाएर सरकार संचालन गर्न
दिएको निर्देशन तथा वर्तमान सरकार काम चलाउ मात्र हो भनी दिएको सुझाव
विपरित अरु दललाई मिलाउने कार्य नगरेका मात्र होइन कि सबै अधिकारप्राप्त
सरकारका रुपमा अध्यादेश थोपर्ने नियत राख्दै आएका छन्। निर्वाचन आयोगले
समेत आगामी मंसिर ७ गते कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने भनिसकेको
अवस्थामा नहुने निर्वाचनको नाममा अध्यादेश जारी गर्ने पक्षमा प्रधानमन्त्री
भट्टराई उभिएका थिए। तानाशाह बन्ने सपना देखिरहेका भट्टराईका कदमलाई
अलिकति मात्र भए पनि रोक्ने कार्य राष्ट्रपतिको निर्णयले गरिदिएको छ।
राष्ट्रपतिले निर्वाचनसँग जोडिएको अध्यादेशलाई जारी नगरी फिर्ता पठाइदिएका
छन्। राष्ट्रपतिको यो कदमबाट पाठ सिकी राम्रो कार्यको साटो राष्ट्रपति
विरुद्ध विषवमन गर्ने कार्यमा भट्टराई तथा उनको दल माओवादी लागेको छ।
राष्ट्रिय
स्वार्थलाई पूरा गर्न काम गर्नुपर्ने यो बेला सरकार हाँकी रहेका
प्रधानमन्त्री भट्टराई भने माओवादीका लागि मात्र कार्य गर्दै रहेका छन्।
उनले सरकारमा बसेर माओवादीको सत्ताकब्जाको नीतिलाई सार्थकता दिन कार्य
गरिरहेको भनी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल स्वयम्ले भनिसकेका छन्।
माओवादीको नीति जसरी पनि सत्ता कब्जा गर्नु रहेको देखिन्छ। राष्ट्रिय
मुद्दालाई महत्व नदिई दलीय मुद्दा तथा उद्देश्यलाई मात्र माओवादी र
प्रधानमन्त्रीले महत्व दिई राष्ट्रलाई धोका दिने कार्य गर्दै आएका छन्।
उनले आफूलाई तानाशाह हिटलर झैं ठानी कार्य गर्दै आएको भनी सर्वत्रबाट
आलोचना हुँदा समेत कानमा तेल हालेर बसेको अवस्था छ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago