अब लुक्दैन बलात्कारका घटना

स्वरूप आचार्य, काठमाडौं, माघ २ - बढ्दो बलात्कारका घटना गाउँठाउँ वा सहरगल्लीका कोठाचोटामै गुपचुप पारिने क्रम अब घट्न थालेको छ। समझदारीका नाममा जघन्य सामाजिक अपराध लुकाउँदा यो समस्या झन्झन् बढ्दो देखिएपछि मानिसमा घटना तत्काल सार्वजनिक गर्ने आँट बढेको हो। त्यही कारण अहिले राजधानीको चिसोलाई मुलुकभरबाट दिनदिनैजसो आइरहेका बलात्कारका समाचारले ओझेलमा पारिरहेका छन्।

बलात्कार घटना नेपाली समाजका लागि नौलो होइन, तर दिल्लीमा भएको सामूहिक बलात्कार प्रकरणपछिका परिदृश्यले नेपालमा पनि पीडितलाई सडकसम्म आउन थप प्रेरित गरेको छ। पीडितहरू बलात्कारलगायत महिला हिंसाका घटनाविरुद्ध खुलेर बोल्न थालेका छन्। केही सातायता जारी 'अकुपाई बालुवाटार' क्याम्पेनले यसलाई थप ऊर्जा दिएको छ। चियापसलदेखि तारेहोटलका बार, सामान्य परिवारदेखि क्याबिनेट मिटिङसम्म यो बहसले प्राथमिकता पाइरहेको छ।

त्रिभुवन विमानस्थलमा फर्जी पासपोर्टसहित पक्राउ परेपछि अध्यागमन विभागकै कर्मचारी र प्रहरीबाट लुटिएकी चेलीको कारुणिक गुहारबाट सबैको मन पग्लियो। लहान र दमकमा सामुहिक बलात्कारको सिकार भएका बालिका, बर्दियामा आफ्नै परिवारको त्रू्करताको सिकार भएकी शिवा हासमीलगायत पीडित सबैले न्याय पाउनुपर्छ भन्ने आवाजमा अधिकारकर्मीमात्र होइन, स्वस्फूर्त उभिएका सर्वसाधारणले समेत आवाज मिलाइरहेका छन्।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०६८/६९ मा ५ सय ५५ महिला बलात्कारका सिकार भएका छन्। यो आर्थिक वर्षको छ महिनामा मात्र करिब एक सय ८० ले बलात्कारको सिकार भइसकेका छन्। यस्तै महिलामाथि हुने अन्य घरेलु हिंसाको तथ्यांक पनि डरलाग्दो छ। प्रहरीको आर्थिक वर्ष ०६३/६४ देखि अहिलेसम्मको तथ्यांकले पनि बलात्कारको घटना बढेको देखाएको छ। ०६३/६४ मा ३ सय १७ वटा बलात्कारको घटना प्रहरीमा दर्ता भएका थिए।

केही साताअघि लहान र दमकमा भएका छुट्टाछुट्टै सामूहिक बलात्कारका घटनाले पनि नेपाली समाजमा महिलामाथिको क्रूरता बढ्दै गएको पुष्टि गरेको छ। अधिवक्ता एवं पूर्वसभासद सपना प्रधान मल्ल भन्छिन्, 'बलात्कार र महिला हिंसाका घटना बढेकै हुन्, पहिले पनि यो ठूलै समस्याको रुपमा थियो। तर, अहिले तथ्यांकमै बढेको देखिनुको मुख्य कारण सचेतनामा आएको वृद्धि हो।'

उनका अनुसार पहिले यस्ता घटना आपसी समझदारीमै मिलाउने प्रचलन बढी थियो। 'त्यसमा अहिले परिवर्तन आएको छ,' उनी भन्छिन्, 'पहिले लुकाएर राखिन्थ्यो, अहिले त्यसो गर्दा झन् समस्या हुने कुरा पीडित पक्षले बुझ्न थालेका छन्।' समाज संवेदनशील बन्दै जानु र मिडियाले समेत गम्भीरतासाथ लिनुले पनि पीडितमा बोल्ने साहस बढेको उनको अनुभव छ।

अधिकारकर्मी र समाज परिवर्तनलाई नजिकबाट नियालिरहेका समाजशास्त्रीका अनुसार बलात्कारका घटना वृद्धि हुनुमा समाज आफैँमा जिम्मेवार छ। एक समाजशास्त्रीले आफ्नो नाम नखुलाउने सर्तमा नागरिकलाई भने, 'कुनै पनि घटनाका पछाडि धेरै घटना जोडिएका हुन्छन्। त्यसको यथोचित सम्बोधनबिना हामी जतिसुकै प्रयास गरे पनि नियन्त्रण गर्न गाह्रो हुन्छ।' उनको कुरामा अधिवक्ता मल्ल पनि सहमत छिन्। उनी भन्छिन्, 'हामीले महिला हिंसा किन हुन्छ भन्नेबारे पनि बहस गर्न जरुरी छ।' त्यसका लागि 'सेक्स एजुकेसन र सेक्सुअल रिलेसन' लाई समाजले हेर्ने नजरमा पनि परिवर्तन ल्याउनुपर्ने जरुरी छ।'

बलात्कारीलाई समातेर कडा सजाय दिएरमात्र समस्या नसुल्भि्कने उनको भनाइ छ।
महिला अधिकारकर्मी रक्षा पौड्यालका अनुसार समाज यौनबारे खुल्दै आए पनि त्यसको नकारात्मक प्रचार बढी छ। उनी भन्छिन्, 'हामी आफैं पनि जागरुक हुन जरुरी छ। बालिका तथा युवतीहरूलाई यौन दुर्व्यवहार भनेको के हो भनेर सिकाउन सके पनि बलात्कारलगायत महिला हिंसाका घटना रोक्न सघाउ पुग्न सक्छ।' बलात्कारजस्तो जघन्य अपराध रोक्न पुरुषलाई पनि आफ्नो यौन चाहना संयमतापूर्वक प्रकट गर्न सिकाउनु जरुरी देखिएको उनको भनाइ छ।

त्रिचन्द्र कलेजकी उपप्रध्यापक शर्मिला रानाभाट हिंसाका घटना बढेको नभई मिडियाले ठाउँ दिएको बताउँछिन्। 'पहिला पनि यस्ता अपराध हुन्थे, तर लुकाइन्थ्यो,' उनले भनिन्, 'अहिले मिडियाले धेरै कभरेज गरिदिनाले बढेको देखियो।'

पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई भने महिला हिंसा बढ्नुमा संकीर्ण सामाजिक मूल्य-मान्यता नै दोषीजस्तो लाग्छ। 'महिला र पुरुषबीच विभेद नै यसको प्रमुख कारक हो,' सदिक्षा भन्छिन्।

महिला हिंसा र बलात्कारका घटना रोक्न कानुन नै फितलो भएको धारणा अधिवक्ता प्रवीणता वस्तीको छ। उनी भन्छिन्, 'कानुन बलिायो बनाएर नजीर बस्ने किसिमका फैसला हुन सके त्यस्ता अपराधीको मनोबल गिर्ने थियो।' भएका कानुन पनि न्यायपालिकाको लामो प्रक्रियाका कारण दोषी उम्कने वातावरण बनेको छ। उनी भन्छिन्, 'एउटा मुद्दा टुंगो लगाउन दुई दशक लगाउने प्रवृत्तिले यस्ता अपराधिको मनोबल उच्च भएको हो।' फैसला गरिहाले पनि कार्यान्वयन अति फितलो रहेको उनको भनाइ छ।
अधिवक्ता मल्लका अनुसार नेपालको कानुनमा पनि बलात्कार र महिला हिंसालाई लिएर फेरबदलको आवश्यकता छ। अहिलेको कानुनले नाबालकमाथिको यौन दुर्व्यवहारका दोषीलाई १६ वर्ष र ठूलामाथि हुने दुर्व्यवहारका दोषीलाई ७ वर्ष कैद तोकेको छ। त्यसैसँग जोडिएर क्षतिपूर्तिको कुरा पनि आउँछ। तर, त्यो पूर्ण रुपमा न्यायसंगत नरहेको उनको तर्क छ। दुर्व्यवहारलाई पनि विभिन्न कोणबाट व्याख्या गर्न जरुरी भएको उनी बताउँछिन्। केवल इच्छाविपरीत यौनसम्पर्कलाई मात्र कानुनले बलात्कारको रुपमा व्याख्या गरेको अवस्थामा अप्राकृतिक सम्पर्कलाई कुन कोटीमा राखेर हेर्ने भन्नेमा पनि अहिलेको कानुनमा समस्या छ। उनी भन्छिन्, 'हामीकहाँ भएको कानुन कन्जरभेटिभ छ। यसलाई आजको आवश्यकताअनुसार परिमार्जित गर्नुपर्ने बेला भएको छ। यसका साथै सजाय पनि थप गर्नुपर्ने देखिन्छ।' उपप्राध्यापक रानाभाट भने जघन्य अपराध गरेको पुष्टि भए त्यस्ता अभियुक्तलाई मृत्युदण्ड नै दिनुपर्ने बताउँछिन्।

किन हुन्छ बलात्कार?
बलात्कार एक सामाजिक अपराध हो। यो अपराध किन हुन्छ भन्ने यकिन जवाफ कसैसँग छैन। तर, विभिन्न तहमा भएका अध्ययन-अनुसन्धानले यसको केही पाटा उजागर गर्न भने खोजेको छ।

मनोचिकित्सक डा. रवि शाक्यका अनुसार सबैभन्दा पहिला बलात्कारीको मनोदशा बुझ्न आवश्यक हुन्छ। उनी भन्छन्, 'बलात्कार अपराध हो, तर बलात्कारीलाई मात्र सजाय दिएर समस्या सल्टिँदैन। त्यो व्यक्तिले किन बलात्कार गर्‍यो भनेर खोज्न पनि त्यति नै आवश्यक छ।' शाक्यका अनुसार बलात्कारी हुनुमा विभिन्न कुराले भूमिका खेलेको हुन्छ। त्यसमा समाजको संरचनादेखि उसको व्यक्तिगत छविसम्म सबैको मूल्यांकन हुन आवश्यक हुन्छ।

विभिन्न अध्ययनका अनुसार बलात्कार हुनुमा सबैभन्दा ठूलो भूमिका बलात्कारीको मनोदशाले खेल्छ। प्राय मुद्दामा बलात्कारी मनोरागी हुन्छ जसलाई 'मेनियाक' भनिन्छ। आफूमा भएको कुण्ठाका कारण उसले यस्तो कुकृत्य गर्छ। त्यसपछि जाँडरक्सी वा लागुऔषधको प्रयोग पनि प्रमुख कारकतत्वमा गणना हुन्छ। यस्तै पुरुषमा हुने अहं भावना पनि अर्को प्रमुख कारक हो।

पूर्व मिस नेपाल सदिक्षा यसमा सहमत छिन्। उनी भन्छिन्, 'हामीलाई हाम्रो अभिभावकले महिला भएकै कारण विभेद नगरे पनि समाजले गर्छ। अहिले बाहिर आइरहेका घटनाहरूका कारण मेरै अभिभावक पनि मेरो सुरक्षालाई लिएर सशंकित हुने अवस्था छ।' उनका अनुसार कानुन दरिलो बनाएर अपराधीलाई कडा सजायको भागीदार नबनाउँदासम्म बलात्कारजस्ता घटनामा कमी आउँदैन।

एक अमेरिकी विश्वविद्यालयको अध्ययनअनुसार ५० प्रतिशतभन्दा बढी महिला चिनेजानेकै व्यक्तिबाट बलात्कृत हुन्छन्। उक्त अध्ययन प्रतिवेदनले उल्लेख गरेअनुसार धेरै बलात्कारमा महिलाका कारण पुरुषमा सिर्जना हुने हीन भावना नै प्रमुख कारकतŒव हुने गर्छ। अर्को कारक महिलामाथि आफ्नो वर्चश्व कायम गर्न र महिलालाई आफ्नो सामाजिक हैसियत देखाउन पनि पुरुषहरूले यस्तो कुकृत्य गर्ने गरेको पाइएको छ।

के छ कानुनमा?
कसैले कुनै महिलाको मञ्जुरीबिना निजको संवेदनशील अंग छोए, निजको भित्री पोसाक खोले वा प्रयास गरे त्यो यौन दुर्व्यवहार हो। निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगे, आफ्नो यौनांग छुन, समाउन लगाए वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरे वा चित्र, तस्बिर देखाए, यौनआशयले जिस्काए वा हैरानी दिए वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वाभाविक व्यवहार गरे वा करणीको आशयले समाते यौन दुर्व्यवहार गरेको मानिनेछ। त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्तिसमेत भराइन्छ।

कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरे वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरे निजले जबर्जस्ती करणी गरेको ठहर्छ।

यस्तो करणी गर्ने व्यक्तिलाई भए एकदेखि १५ वर्षसम्म कैद सजाय हुन्छ। महिलालाई सामूहिक रुपमा जबर्जस्ती करणी गर्ने वा गर्भवती, अशक्त वा अपांग महिलालाई जबर्जस्ती करणी गर्नेलाई भने तोकिएको सजायमा थप पाँच वर्ष कैद हुन्छ। यस्तै बलात्कार गर्न सघाउनेलाई तीन वर्षसम्म कैद हुनसक्छ। पीडित १६ वर्षमुनि भए सघाउने व्यक्तिको सजाय दोब्बर हुन्छ।

मुलुकी ऐनमा पीडितले आफ्नो अस्मिताको रक्षा गर्न खोज्दा पीडकको ज्यान गए बात नलाग्ने उल्लेख छ। पीडितले पीडकलाई आवेशमा बलात्कार भएको एक घन्टाभित्र प्रहार गर्दा पीडक मरेमा कानुनी रुपमा बात लाग्दैन। तत्पश्चात भने पीडितले गरेका कार्यलाई पनि जरिवाना र कैदसजाय तोकिएको छ।

बलात्कार अनुसन्धान र तहकिकातमा पीडित स्वास्नी मानिसको बयान महिला प्रहरी कर्मचारीले गराउनुपर्ने र महिला प्रहरी कर्मचारी नभए समाजसेवी महिलाको रोहवरमा अन्य प्रहरी कर्मचारीले गराउन सक्ने व्यवस्था कानुनमा छ। यस्तै बलात्कार भएकै भए पनि पैँतीस दिन भित्र नालिस नदिएको खण्डमा पीडकलाई मुद्दा लाग्दैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out